भेडेटारमा ३० करोडको लगानीमा सिसाको ‘स्काई वाक’ बनाइने

धनकुटा । सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा सिसाको ‘स्काई वाक’ निर्माण हुने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ ।

वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको हो । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।

स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् ।

भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिनुभयो ।

परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनरीको सीमामा पर्दछ । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताउनुभयो ।

काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

Back to top button