उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमालेबाट १ जना, जसपाबाट २ जना र जनमतबाट १ जनाको उम्मेदवारी दर्ता भएको हो।

जसपाबाट रामसहाय यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । १० दलीय गठबन्धनको आज बिहान बसेको बैठकमा उम्मेदवारमा सहमति हुन नसकेपछि जसपा र जनमतले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका हुन्।

जसपाका संसदीय दलका नेतासमेत रहनुभएका रामसहायको प्रस्तावकमा नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ, जसपाका अशोककुमार राई र प्रदिप यादव हुनुहुन्छ भने समर्थकमा नेपाली कांग्रेसका खिमलाल देवकोटा, अम्बिका काफ्ले, नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी,प्रकाश ज्वाला र जसपाका रेखा यादव हुनुहुन्छ ।

जसपाकै प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमारसिंह यादव, नवलकिशोर शाह, दिपक कार्की, राजकिशोर यादव हुनुहुन्छ भने समर्थकमा नेपाली कांग्रेसका अनिता देवकोटा, सिता गुरूङ, नेकपा माओवादी केन्द्रका विमला सुवेदी, नेकपा एकीकृत समाजवादीका जयन्ती राई र जसपाका मनिष सुमन हुनुहुन्छ ।

यसैगरी जनमतका ममता झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अभिराम शर्मा, रुपाकुमारी यादव हुनुहुन्छ भने समर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुसवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले झालाई जनमत,लोसपा,नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताउनुभयो ।

यस्तै, एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहनुभएकी शाक्यको प्रस्तावकमा एमाले अध्‍यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, सचिव छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवति न्यौपाने र यशोदा रिजाल हुनुहुन्छ। उहाँ बागमती प्रदेशको मुख्यमन्त्री समेत भइसक्नुभएको छ ।

गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा पनि राष्ट्रपतिभन्दा फरक समुदाय वा लिंगको हुनुपर्ने उल्लेख छ।

भनिएको छ, ‘यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ।’ तर, दलहरूले भने‘वा’ ले जोडेका शब्दलाई लिएर फरक–फरक व्याख्या गरिरहेका छन्। यही चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने तय भएको छ।

Back to top button