
बिर्तामोड। झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रदेशसभा सदस्य एकराज कार्कीले गर्नुभएको हो । लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टोलीले रू ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, द्वितीय हुने टोलीले रू ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टोलीले रू ७ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजयीले रू ३० हजार, द्वितीयले रू १५ हजार र तृतीय हुने टोलीले रू ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिनुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताउनुभयो ।
प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरीलगायतका जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।