
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको मुल मर्म नेपाली नागरिकले सहज ढंगले नागरिकता पाउन भन्ने रहेको बताउनु भएको छ । प्रतिनिधिसभामा बोल्दै आज उहाँले नागरिकता विधेयक अदालतमा गइसकेकोले सांसदहरूलाई पर्खन सांसद्लाई आग्रह गर्नुभयो ।
नागरिकताविहीनको संख्या १२ लाख पुगिसकेको उल्लेख गर्दै उहाँले केपी ओली हुँदा ल्याएको अध्यादेश होस् चाहे शेरबहादुर देउवाजी हुँदा ल्याएको विधेयक होस् । उद्देश्य एउटै रहेको बताउनुभयो । तर, सरकारले निर्णय गर्छ, अदालतले रोक्छ । यो सत्तापक्ष र प्रतिपक्षले भोगेको पीडा रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
‘अनागरिकले नागरिकता नपाउन र वास्तविक नेपाली नागरिकता प्राप्त गर्नबाट बञ्चित नहोस् भन्नेमा हामी प्रष्ट छौं,यो सिद्धान्तमा हामी कोहि द्वविधामा छैनौं ।’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,’ त्यतिबेला नागरिकतासम्बन्धी अध्यादेश जारी गर्दा प्रतिपक्षी दलको नेता प्रधानमन्त्री हुनुहुन्थ्यो ।’
नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित बनाइएको उहाँले बताउनुभयो । ‘नेपालमा विवाह गरेर आउने महिलाको हकमा केहि क्राइटेरिया राख्नुपर्ने भन्ने पक्षमा छौं । नागरिकता विधेयक सर्वसम्मत विधेयक हो ,’प्रचण्डले भन्नुभयो ।