वर्षमान पुन १ असारमा स्वदेश फर्कने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन असार १ गते शुक्रबार नेपाल आउने हुनुभएको छ । लामो समयदेखि चीनमा उपचार गराइ रहनुभएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लाग्नुभएको हो ।

उहाँ पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित शुक्रबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उहाँको सचिवालयले जानकारी दिएको छ ।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन जानुभएको थियो। उहाँको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

उहाँको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १ दशमलव ५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।

यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।

Back to top button