
दाङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताउनुभएको छ ।
आज दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको बताउनुभएको हो ।
उहाँले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पार्नुभयो । उहाँले आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीसँग कुरा गरेको दावी गर्नुभयो ।
महराले भन्सारमा रोकिएको सामान सुन भन्ने कुरा उनीहरुले पनि नभनेको र आफूलाई पनि थाहा नभएको प्रष्टीकरण दिनुभएको छ ।
पूर्वसभामुख समेत रहनुभएका महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार भन्दै अहिले हालसम्म प्रहरीले नबोलाएको बताउनुभयो ।