नेप्से परिसूचक ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

काठमाडौं । सेयर बजारको चौथो दिन आज कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। हिजो दोहोरो अंकले ओरालो लागेको बजार आज भने तीव्र उचारचढावका बीच परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २००७ दशमलव ०६ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स ७ दशमलव ६६ अंकले बढेर ३८६ दशमलव ८१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि हिजोको तुलनामा बढेको छ। आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भयो।

हिजो नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर १९६७ दशमलव ५७ विन्दुमा अडिएको थियो। सो दिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो।

सोमबार नेप्से परिसूचक ४४ दशमलव ३० अंकले बढेर १९८६ दशमलव ९९ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो।

साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो। यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सोल्टी होटलको ६ करोड ७० लाख र इभरेष्ट बैंकको ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।

यस्तै, १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। आज हाइड्रोपावर उपसमूहको उपसूचक सर्वाधिक ३ प्रतिशतले बढ्यो।

Back to top button