सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो

कठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आज बजार परिसूचक नेप्से १९ दशमलव ४२ अंकले गिरावट भएर २०१० दशमलव ३५ को विन्दुमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरवलोकन गर्ने भएपछि गत बिहीबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से आज भने दोहोरो अंकको गिरावट भएको छ । लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९ दशमलव ७८ को विन्दुमा बन्द भएको नेप्से आज ० दशमलव ९५ प्रतिशतले गिरावट भएको हो।

उक्त सीमा पुनरवलोकन गरी परिपत्र जारी हुन बाँकी रहेको नेप्सेमा बिहीबारको वृद्धि कायम नभएको बजारका जानकारहरु बताउँछन् । उक्त सीमा पुनरवलोकन हुँदा बजारलाई ठूलो प्रभाव नपरे पनि सेयर लगानीकर्तामा मनोवैज्ञानीक प्रभाव पर्ने र त्यसले लगानीकर्ताको मनोबल बढ्ने बजारका जानकारहरु बताउँछन् ।

आज नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ० दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १ दशमलव ९८ प्रतिशतले गिरावट भएको छ । यस्तै, व्यापार र हाइड्रोपावर उपसूचक १ दशमलव ८१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १ दशमलव ६५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहिबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ । आज (आइतबार) माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ । लाभांश बुक गर्ने अन्तिम कारोबार दिन भएकोल बैंकको सेयर कारोबारमा चाप देखिएको हो । यस्तै, सन् नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७४ लाख र शिवम् सिमेन्टको ९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै, ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

आज (आइतबार) कारोबार भएकामध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९ दशमलव ७३ प्रतिशतले बढेको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइमूल्य ५ दशमलव ४५ प्रतिशत र मायाखोला हाइड्रोपावरको सेयरमूल्य ५ दशमलव ३७ प्रतिशतले गिरावट भएको छ ।

Back to top button