रास्वपाको बैठक आज पनि बस्दै, सभापतिले राजनीति प्रतिवेदन पेस गर्ने

महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि महोत्तरीको जलेश्वरमा बस्दै छ । हिजोबाट सुरु भएको बैठकमा पार्टीका पदाधिकारीसहित केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति सहभागी रहेका छन् ।

आज बिहान ८ बजेबाट ९ बजेसम्म संसदीय दलको बैठक र ९ देखि १० बजेसम्म केन्द्रीय समितिको छुट्टा–छुट्टै बैठक बस्ने कार्यतालिका छ । संयुक्त बैठक भने ११ बजेबाट सुरु हुने छ ।

रास्वपाका संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीका अनुसार आज सभापति रवि लामिछानेले बैठकमा पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । आज महाधिवेशनको कार्यविधि तथा प्रक्रियाबारे महामन्त्री र सहमहामन्त्रीले छलफल चलाउनेछन् ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समिक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल र निर्णय हुनेछ।

यसअघि मधेसका आठवटै जिल्लामा गई समग्र अवस्था बुझेकाले यस बैठकले मधेसको हितमा अवश्य नै ठोस निर्णय गर्ने रास्वपाले जनाएको छ ।

Back to top button