रास्वपामा विधान संशोधन गर्न महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।

विधान संशोधनका लागि महामन्त्री ढकालको संयोजकत्वमा ७ सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाइएको छ । केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, डा.तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे समितिको सदस्य हुनुहुन्छ ।

‘पार्टी बैठकले गरेको निर्णय अनुसार विधान संशोधन गर्नुपर्ने भएको छ’, महामन्त्री ढकालले भन्नुभयो,‘विधानमा संशोधन गर्नुपर्ने विषयहरु एक महिनाभित्र पार्टीमा सिफारिस गर्छौं ।’

केन्द्रीय समिति र संसदीय दलको बैठकले सांसद स्वतः केन्द्रीय सदस्य हुने निर्णय गरेको छ । पार्टी विधानमा भने स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छैन । पार्टीले गरेका सबै निर्णय विधान बमोजिम हुने गरी विधान संशोधन गरिने महामन्त्री ढकालले जानकारी दिनुभयो ।

रास्वपाको जलेश्वर बैठकले पदाधिकारी थप गर्नुका साथै सचिवालय पनि गठन गरेको थियो । हालको विधानमा सचिवालय गठनको व्यवस्था नभएपनि महाधिवशेनको प्रक्रिया सुरु गर्न गठन गरिएको रास्वपाले जनाएको छ ।

यस्तै विधानमा केही शब्दमा समेत संशोधन आवश्यक रहेको महामन्त्री ढकालले जानकारी दिनुभयो । पार्टी गठनको सुरुको समयमा पार्टी बैठकको सट्टा भेला गरिएको थियो । । ‘भेला’को ठाउँमा ‘परिषद्’ शब्द राख्ने ढकालले जानकारी दिनुभयो ।

Back to top button