राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली स्वीकृतः २ हजार ४७ जनाले मतदान गर्ने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ ।

आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५ सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९८ जनागरी कूल २ हजार ४७ जनाको नामावली स्वीकृत भएको हो।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५ सय ५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५ सय ४९ जना कायम गरिएको आयोगले जनाएको छ ।

मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकाले प्रदेशसभा सदस्यको कूल मतभार २९ दशमलव ०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ दशमलव ४६२ गरी जम्मा ५७ दशमलव ५५९ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ ।

Back to top button