तीन दिनमा ७१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । सेयर बजारमा आज लगातार तेस्रो दिन पनि उच्च अंकको गिरावट देखिएको छ । गत बिहीबार,आइतबार र आज (बुधबार)गरी नेप्से परिसूचक कूल ७१ अंकले घटिसकेको छ ।

त्यसअघि नेप्से ७ कारोबार दिनमा १ सय ८२ अंकले बढेको थियो । गत साताको अन्तिम कारोबारको दिन बिहीबार ३२ दशमलव ७७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आइतबार २१ दशमलव ०३ अंकको गिरावट आएको थियो ।

ओरालो यात्रालाई निरन्तरता दिने क्रममा नेप्से बुधबार १७ दशमलव २३ अंकले घटेर २०७० दशमलव ८४ बिन्दुमा कायम भएको छ । यता सेन्सिटिभ इन्डेक्स ४।२५ अंकले घटेर ३८७ दशमलव ०७ अंकमा पुगेको छ ।

कारोबार सुरु भएको केही समय बढेपनि बजार १ बजेसम्म स्थिर देखिएको थियो । त्यसयता निरन्तर घटेर दिनकै तल्लो २०५५ अंकमा पुगेर नेप्से फर्किएको थियो । कारोबारको अन्तिमा २० मिनेटमा सुधारको प्रयास गरेपनि नेप्से हरियो बन्न सकेन ।

आज कारोबारमा आएका १ सय ५९ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा पनि भारी गिरावट आएको हो । यसैगरी ८३ कम्पनीको मूल्य बढ्दा ५ वटाको यथावत रहे ।

कारोबारमा आएकामध्ये ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् भने थप ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार नेपा इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रो र चिख्र्वा हाइड्रोको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेका छन् भने नेपाल वेयरहाउजिङका सेयरधनी सर्वाधिक कमाउनेमा शीर्ष ५ मा परे ।

यता बीपीडब्लू लघुवित्तकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रो,सुर्याज्योति लाइफ, नेपाल रिपब्लिक मिडिया र हिमालयन पावर पार्टनरका सेयरधनी सर्वाधिक गुमाउनेमा परे ।

नेप्सेमा भारी गिरावट आएको दिन १ लाख १७ हजार ४ सय ७६ कारोबारमार्फत् ३ सय ७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ इकाइ सेयर ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँमा खरिदबिक्री भए । साताको पहिलो कारोबार दिन आइतबार ७ अर्ब ११ करोड बढी रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबार रकमा आइतबारको तुलनामा १ अर्ब ८७ करोडले कम हो । कारोबार रकमका आधारमा सोनापुर मिनिरल्स एन्ड आयल्स अग्रस्थानमा रह्यो । कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको कारोबार भयो । कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, सुर्याज्योति लाइफ, हाथवे इन्भेस्टमेन्ट र नेपाल रिपब्लिक मिडिया शीर्ष ५ मा रहे ।

बुधबार कारोबारमा आएका २ समूहको उपसूचकमा सुधार आए भने ११ वटामा गिरावट देखियो । यसदिन म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचकमा सुधार आएको हो । घट्नेमा कारोबार समूह अगाडि रह्यो ।

Back to top button