सेयर बजारमा आजपनि उचारचढाव कायमै,नेप्से र कारोबार रकम दुवै घट्यो

काठमाडौं । दिनभरको उचारचढावका बीच सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । हिजो १७ दशमलव २३ अंकले घटेको नेप्से आज १ दशमलव ९३ अंकले घटेर २०६८ दशमलव ९० विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स पनि १ दशमलव ६२ अंकले घट्यो। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर १ लाख १ हजार ५०४ पटकको कारोबारमा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँमा खरिदबिक्री भए। हिजो ५ अर्ब २४ करोड ८७ लाख बराबरको सेयर खरिदबिक्री भएको थियो।

सामान्य अंकले घटेको सेयर बजारमा ६ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भिजन लुम्बिनी उर्जाको १० प्रतिशतले बढ्दा चिरख्वा हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्टको ९ दशमलव ९९ प्रतिशत,मनकामना इनर्जी हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको ९ दशमलव ९८ प्रतिशतले मूल्य बढ्यो।

करिब आधा दर्जन कम्पनीको मूल्य बढ्दा दुई कम्पनीको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो। धवलागिरी लघुवित्त वित्तीय र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले ओरालो लागेको हो ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड रुपैयाँ बढीको सेयर कारोबार भयो । यसैगरी शिवम् सिमेन्ट र घोराही सिमेन्टको १३ करोड बढी मूल्यको सेयर कारोबार भयो।

यस्तै, ६ समूहको उपसूचक बढ्दा ७ समूहको सूचक भने घट्यो । १३५ कम्पनीको मूल्य घट्दा १०३ को मूल्य बढ्यो ।

Back to top button