रास्वपाले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन गठन गर्‍यो कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हो ।

वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले हिजो सार्वजनिक गर्नुभएको हो । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाईमा सहप्रवक्ता प्रसाईले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

‘सहकारी र लघुवित्त पिडीतहरुको विषय तिव्र रुपमा उठ्न थालेपछि सभापतिको निर्देशनमा रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा कार्यदल बनेको छ,’ सहप्रवक्ता प्रसाईले भन्नुभयो,‘जसले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि यो कार्यदल बनेको छ ।’

सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरि कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा रवि सभापति लामिछानेले गर्नुभएको थियो ।

‘जलेश्वर बैठकमा नै निर्णय भएको हो,’ कार्यदलका संयोजक समेत रहनुभएका वाग्लेले भन्नुभयो,‘अर्थनीति विभागले त्यसमा काम गरिरहेको छ । अर्थ नीति विभाग सहित आमन्त्रित सदस्यका रुपमा केही व्यक्तिलाई कार्यदलमा राखिएको उपसभापति वाग्लेले जानकारी दिनुभयो ।

विषय विज्ञहरुसँग छलफल प्रारम्भ भइसकेको कार्यदलले जनाएको छ । उपसभाति वाग्लेका अनुसार संसद बैठक सुरु हुन अघि नै कार्यदलले प्रतिवेदन तयार गर्नेछ । अर्थ नीति विभागले तयार गरेको प्रतिवेदनका आधारमा संसदमा पिडितका पक्षमा विचार राख्ने रास्वपाले जनाएको छ ।

Back to top button