संसद् अधिवेशन चल्दासम्म कांग्रेसका सांसदले काठमाडौं छोड्न नपाउने

काठमाडौं । नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ । आज बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो।

यदि छोड्नै परे प्रमुख सचेत वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निर्णय भएको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो,‘यदि अत्यावश्यक जानैपरे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ ।’

यसैगरी कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ । नेता लेखकले भन्नुभयो,‘सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनका प्रति उत्तरदायी बनाउनका निम्ति मन्त्रीहरूले गम्भीरताका साथ उपस्थित हुने निर्णय भएको छ ।’

बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । विधेयक पारित गर्न संसदमा रहेका अन्य राजनीतिक दललाई अपिल गर्ने समेत निर्णय भएको कांग्रेस नेता लेखकले जानकारी दिनुभयो ।

Back to top button