बुढाथोकीको निधनको शोकमा पार्टीको झण्डा ३ दिन आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

उहाँको निधनले मर्माहित र स्तब्ध भएको कांग्रेसले जनाएको छ । नेता बुढाथोकीको उपचारका क्रममा गएराति निधन भएको हो ।

नेपालीले कांग्रेसले संविधान सभा सदस्य एवं पूर्वसामान्य प्रशासन मन्त्री समेत रहनुभएका बुढाथोकीको शोकमा ३ दिन सबै कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज,भोलि र पर्सी गरी ३ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय,प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै, माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द हुने र निधन भएको १३ औं दिनसम्म केन्द्र,प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने कांग्रेसले जनाएको छ । यसैगरी निधन भएको १३ औं दिनमा झापामा शोक सभाको आयोजना गरिनेछ ।

Back to top button