रास्वपाले चैत १७ मा इलाम–२ को उम्मेदवार सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ ।

निर्वाचन आयोगले १५ बैशाखमा इलाम–२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ ।

‘१६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले जानकारी दिए ।

रास्वपाबाट उम्मेदवार बन्न आकांक्षीको संख्या ७ जनाको छ ।

रास्पवाले उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको विधि नगर्ने भएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ ।

इलाम–२ मा १ लाख १८ हजार मतदाता छन् । प्राइमरी इलेक्सन गर्नका लागि १ हजार १८० पार्टी सदस्य हुनुपर्दछ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्राइमरी इलेक्सन गर्नका लागि एक प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवार तोक्न लागिएको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन तयारीका लागि रास्वपाले इलाम–२ मा खटाएको छ । रास्वपाका ६ सांसद निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग छलफल गरेर फर्केका छन् ।

इलाम–२ मा इलाम नगरपालिकाको वडानम्बर १० बाहेकका सबै वडा, देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पर्दछन् ।

Back to top button