रंगेली–३ का अग्निपीडित विद्यार्थीलाई शिक्षादीप कलेजको सहयोग

विराटनगर । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ स्थित बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गरेको छ ।

सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगेर राहतस्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गर्नुभएको हो ।

विद्यार्थीहरुको पढाइमा सहयोग गर्न एउटा झोला, केही कापी, कलम, एक सेट सर्ट–पेन्ट र भेष्ट–पेन्ट वितरण गरिएको थियो । शैक्षिक सामग्री र पोशाक ३१ जना विद्यार्थीहरुलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिनुभयो ।

कलेजले समाजप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रिन्सिपल खड्काले बताउनु भयो ।

किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको समग्रीले पढाइमा ठूलो सहयोग पुग्ने पीडित विद्यार्थीहरुले बताएका छन् । शनिवार दिउँसो विद्युतीय तारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जना विस्थापित भएको जनाइएको छ ।

Back to top button