जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचार–प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।

हिजो (शुक्रबार) बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताउनुभयो ।

निर्देशिकाले जसपाका करिब १ लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब १ हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

Back to top button