कर्णाली पुलबाट हामफालेका १७ जनामध्ये १ जना बेपत्ता

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारि नै रोक्न खोजेको थियो । तर,सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ ।

‘उहाँहरूलाई डिउटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाइ धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भनी जबरजस्ती गरी अघि बढ्नुभएछ’ डाँगीले भन्नुभयो,‘नदीमा हाम फाल्दाको अवस्थाबारे सूचना थिएन । हराइसकेपछि मात्र खबर आयो । तत्काल उद्धारको प्रयास गरिएको थियो तर सकिएन ।’

Back to top button