नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो ।

नेपालका बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाउनुभयो । चौथो विकेटका लागि गुलशन र रोहित पौडेलले ७१ रनको साझेदारी गर्नुभएको थियो ।

कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेल्नुभयो । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट हुनुभयो ।

सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहनुभयो ।

आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिनुभयो । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिनुभयो । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्ने छ । आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सँग समान ३ टी–२० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।

Back to top button