राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताउनुभएको छ ।

द्वन्द्व पीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भएको भेटघाटमा उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले चाहँदाचाहँदै पनि संक्रमणकालिन न्याय टुंगोमा लगाउन नसकिएको बताउनुभयो । ‘सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो,‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्,त्यसले गर्दा कतिपय समस्या भएको छ ।’

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले द्वन्द्व पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन,द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको जिकिर गर्नुभयो।

उहाँले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

Back to top button