कोशी प्रदेशमा कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा

विराटनगर । कोशी प्रदेशको उद्योग , कृषि तथा सहकारी मन्त्रालयले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। आज विराटनगरमा मन्त्रालयले एक कार्यक्रममा प्रणाली सार्वजनिक गरेसँगै सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मूल्य प्रणाली सार्वजनिक गर्दै नेपाल कृषिप्रधान राष्ट्र भएता कृषिलाई विकास र समृद्धिको माध्यम बनाउन चुकीरहेको बताउनु भएको थियो । खत्रीले प्रदेशमा आवश्यक पर्ने खाद्य वस्तुहरूको उत्पादन प्रदेश भित्र गर्न सफल भए मात्र पनि कोशी प्रदेश समृद्ध हुने बताउनु भएको हो ।

खत्रीले कृषि मूल्य सूचना प्रणालीले कृषकहरूलाई वस्तुको मूल्य र मागको प्रवृति बुझ्न सघाउ पुर्याउदा कृषकहरू उच्च मनोवल साथ माग अनुसार आवश्यक वस्तुको उत्पाउनमा लाग्ने अपेक्षा प्रदेश सरकारले लिएको धारणा समेत व्यक्त गर्नु भएको थियो ।

‘ नेपाललाई समृद्ध राष्ट्र बनाउने हो भने कृषिमा लगानी बढाउनु बाहेको विकल्प छैन् ‘ खत्रीले भन्नुभयो , ‘ कृषि क्षेत्रको विकासको लागि केन्द्र सरकार र स्थानिय सरकार बिच संयोजनकारी भूमिका खेल्न प्रदेश सरकार तयार छ ‘ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका कृषि अधिकृत पशुपति पोखरेलले हाल सूचना प्रणालीमा कृषि बजार व्यवस्थापन समिति धरान , कृषि बजार व्यवस्थापन समिति बिर्तामोड , कृषि बजार व्यवस्थापन समिति इनरुवा आवद्ध रहेको जानकारी दिनु भएको थियो। त्यस्तै , पालिका स्तरीय कृषि बजारमा सगरमाथा कृषि थोक बजार गाईघाट , कृषि तथा पशुपन्छी बजार दुहबी , दमक नगरपालिकाको नयाँ सब्जी बजार र जल्पादेवी कृषि उपज संकलन केन्द्र धनकुटा समेत प्रणालीमा आवद्ध रहेको पोखरेलले जानकारी दिनु भएको थियो।

प्रणालीमा आवद्ध कृषि बजारहरुमा हरेक दिन कृषि उत्पादनको मूल्य अध्यावधिक गरिने बताइएको छ।

मन्त्रालयले स्थापना गरेको प्रणालीको विकास तथा प्राविधिक सहयोग नेपाल कृषि बजार विकास कार्यक्रम ( सहज ) , साना सिंचाई कार्यक्रम , स्विस विकास सहयोग ( एसडीसी ) गरेका हुन्।

Back to top button