विराट गोल्डकपको तयारी पूरा

विराटनगर । भोलि (बिहीबार) देखि विराटनगरमा सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

यस अघिसमिति मार्फत हुँदै आएको प्रतियोगिताको यस वर्ष विराट गोल्डकप ट्रष्टले आफै आयोजना गर्दैछ । आज पत्रकार सम्मेलन गर्दै ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रतियोगिता चैत २४ गतेसम्म विराटनगरस्थित शहिद रंगशालमा हुनेछ । यस वर्ष नेपालका ७, भारतका २ र भुटानका १ गरी ३ देशका १० टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगदसहित शिल्ड प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही नगद २१ हजार तथा प्रत्येक दिन खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार प्राप्त गर्नेछन् ।

सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ३४ हजार रुपैयाँ खर्च हुनेछ ।

विराट गोल्डकप ट्रष्टले टिकट बिक्रीबाट ५० देखि ६० लाख कोशी प्रदेश सरकारबाट २५ लाख, विराटनगर महानगरपालिकाबाट १२ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख र विभिन्न प्रायोजकबाट ३० देखि ३५ लाख रुपैयाँ प्राप्त हुने ट्रष्टका कोषाध्यक्ष अनुज बाँनियाले बताउनुभयो ।

विराट गोल्डकप ट्रष्टले फुटबल प्रतियोगिताको दुई मुख्य प्रायोजक एसियन थाइफुड्स र एनआईसी एसिया बैंकबाट ६/६ लाख, प्रायोजक पेपे पिज्जाबाट ५ लाख, सहप्रायोजकबाट २ लाख र उप-प्रायोजकबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पत्रकार सम्मेलनमा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष किशोरबहादुर तिम्सिना, महासचिव विनेश बस्नेत, सचिव ध्रुव सिग्देल, कोषाध्यक्ष अनुज बाँनिया, सह-कोषाध्यक्ष बिमलराज भण्डारीलगायत सदस्यहरूको सहभागिता थियो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने आयोजकले जानकारी दिएको छ । भोलीको उद्घाटन खेल आरटीसी फुटबल क्लब भुटान र नेपाल पुलिस क्लब काठमाडौं बिच हुनेछ ।

Back to top button