कांग्रेस महामन्त्री थापाको स्थगित ‘संवाद यात्रा’ आजबाट पुनः सुरु

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थगित रहेको ‘संवाद यात्रा’ आजबाट पुनः सुरु गर्नुभएको छ ।

माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्ज सम्म आएर रोकिएको थियो । सोही स्थानबाट आज पुनः सुरु भएको महामन्त्री थापाले बताउनुभयो ।

संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो ।

स्थानीय चोकमा रहेको जननायक विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर सुरु भएको संवाद यात्राका क्रममा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा जाने थापाको तयारी छ ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने दाबी गर्नुभएको छ ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले बैतडी जिल्लाको झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ पाँचथरको चिवाभन्ज्याङ (१८७९ किलोमिटर) पूरा गरेको थियो ।

मंसिर १४ गते झुलाघाटमा यात्राको शुभारम्भ गर्दा राष्ट्रिय झण्डा फहराएर सुरु भएको एमाले संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङमा समापन गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेरै यात्राको समापन गर्नुभएको थियो ।

‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ एमालेले पूरा गरेलगत्तै पौषमा कांग्रेसले ‘समुदायमा कांग्रेस’अभियान सुरु गरेको थियो।

Back to top button