आर्थिकरुपमा महिला सबल हुनैपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।

महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान ललितपुरमा उद्घाटन गर्दै उहाँले महिला सशक्तिकरणका लागि आर्थिक पहुँच दरिलो हुनुपर्नेमा जोड दिनुभयो ।

‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर,आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’

प्रधानमन्त्रीले सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको र आगामी दिनमा त्यसलाई बढाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिकरूपमा सशक्त नभइ साँचो सशक्तिकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’

महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ छ।

 

Back to top button