एमाले झापाको अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्न अध्यक्ष ओलीका ७ निर्देशन

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टीको जिल्ला अधिवेशन हिजोबाट सुरु भएको छ । अधिवेशनको अध्यक्ष ओलीले हिजो उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा उहाँले प्रतिनिधीहरुलाई सहमती गरेर नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ । लोकतान्त्रिक पद्धतिका नाममा निर्वाचन गरेर पार्टी संगठनलाई आर्थिक भार नपार्न पनि आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले कोही व्यक्तिको निहित स्वार्थ पुरा लोकतान्त्रिक प्रक्रियाको नाम दिएर चुनाव नगर्न गृहजिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले प्रतिनिधीहरुबाट चुनिने विषय भएकोले यसलाई गोप्य मतदान भनिरहनु नपर्ने पनि बताउनुभएको छ ।

यस्तै, औपचारिक रुपमा कसैले उम्मेद्वारी घोषणा नगरे पनि हालका कार्यवाहक अध्यक्ष प्रेम गीरी र सचिव शिव ढुंगेल अध्यक्षको दौडमा हुनुहुन्छ । अध्यक्ष ओलीले पार्टीका सिनियरहरुसँग सल्लाह गरेर मात्र उम्मेद्वारी दर्ता गर्न आकांक्षी सबैलाई निर्देशन दिनुभएको छ ।

निर्वाचन नगरी सहमतीय प्रक्रियाबाट नेतृत्व चुन्नका लागि गृहजिल्लाका कार्यकर्तालाई अध्यक्ष ओलीले ७ वटा निर्देशन दिनुभएको छ ।

१.भीम रावल प्रवृति नदोहोयार्उनुहोस
सहमति गर्न सकिने ठाउँमा चुनाव गराए पार्टीलाई अनावश्यक आर्थिक भार पर्ने उहाँको भनाइ छ । पार्टीको दशौ महाधिवेशनमा आफू विरुद्ध भीम रावलले उम्मेद्वारी दिएको विषय पनि अध्यक्ष ओलीले स्मरण गर्नु भएको छ । रावलको नाम नलिएरै अध्यक्ष ओलीले भन्नुभयो :
दशौं महाधिवेशनमा एकजना साथीले अनावश्यक अर्घेल्याँइ गर्दा दुईदिन बढी समय लाग्यो । खर्चको हिसाबले ठूलो खर्च व्योहोर्नुपर्यो । आखिर परिणम जे हुनु थियो ठ्याक्कै त्यही भयो । हुने त त्यही हो । भनियो आग्रह गरियो । हुने त्यही हो किन दुई दिन अनिदो बस्ने ? किन करोडौं खर्च गर्ने अनावश्यक ? नभएको पैसा किन खर्च गर्नुृ ? तर त्यो नगरौं तर जिद्धी गर्दा…। त्यहाँ महाधिवेशनले टुंग्याएपछि त त्यसले टुंगियो भनेर मान्नुपर्यो नि । त्यो नमान्ने । अनि फेरी गाँउतिर गएर हेरन मलाइ यस्तो बनाइदिए भन्ने । अनि उपाध्यक्ष बस भन्दा नबस्ने । अध्यक्ष नै खान्छु भन्ने । म कहाँ छोड्छु तलाइ हटाउछु भन्ने । अनि ल न त हेरौं भन्दा भएन । नभएपछि मान्नु पर्यो नि परिणाम । त्यसमा चित्त नबुझाउने फेरी । यो खालका तरिकाहरुमा हामी जानु हुदैन । संयम र धैर्यता राख्नु पर्दछ ।
२.पार्टीलाई ऋणको भारी नबोकाउनुहोस
जिल्ला अधिवेशनमा पनि चुनावतिर लाग्दा होटल,रेष्टुरेन्टहरुको बीलको भार पार्टीलाई पर्ने उहाँको भनाइ छ । त्यसैले सबैले धैर्य गरेर सहमतीमा आउन उहाँले आग्रह गर्नुभएको छ । यस सम्बन्धमा अध्यक्ष ओलीले भन्नुभएको छ :
तपाईंहरु धेरै समय नलिनुहोस । यो कमिटी बन्छ नि पछि अध्यक्ष नयाँ बनिसक्दा ३० लाख ३५ लाख ४० लाख,५० लाख ऋण । फलानो होटलको यति छ ,होटलवाला आउछ कार्यालयमा बिल यति छ । अर्को रेष्टुराँले यति छ भनेर लिएर आँउछ । अर्को लजले यति छ भन्छ । मान्छे बसेको बसाएको । खानाको यति छ भन्छ । खाजाको यति छ भन्छ । त्यो ऋणको बोझ भोली तपाईं हामीले नै तिर्नुपर्दछ । त्यसकारण अधिवेशनहरु खर्चालु गर्ने होइन । यो लोकतन्त्रको अभ्यासका नाममा ।
३.आफूले भन्दा बढी अरुले योगदान गरेका हुनसक्छन्
अधिवेशनमा प्रतिनिधी भएर आएका सबैलाई अध्यक्ष हुन मन लाग्ने,हुन योग्य पनि हुने तर आफूले भन्दा अरु कसैले बढी योगदान दिएको छ कि पार्टीमा भनेर सोच्नु पर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले दमकका एक २६ वर्षीय युवाले आफूसँग राखेको माग सम्झिंदै भन्नुभयो :
आज विहान मात्र एकजना बाबुसँग भेट भयो । के पाइस भन्छन् ? मैले उमेर सोधें कतिवर्षका भयौ ? उसले २६ भन्यो । अनि पार्टीमा काम गरेको कति वर्ष भयो त ? ५० वर्ष भयो ? जम्मा उमेर २६ वर्ष भएको छ । यत्रो लामो काम गरें भन्छ पार्टीमा । यत्रो पसिना बगाइसके । परिवारका मान्छेले पनि यत्रो लागेर के पाइस भन्नथाले । २६ वर्षको मान्छेलाई त्यो भन्छन् भने अरुलाई के भन्छन् होला ? त्यसकारण मान्छेलाई के लाग्छ भने मैलेचाँही धेरै ठूलो योगदान गरेको छु । धेरै महत्वपूर्ण योगदान गरेको छु । मैले योगदान गरेको हुनसक्छ तर म भन्दा बढ्ता अर्काले गरेको हुनसक्छ । म भन्दा बढी अर्काले गरेको हुनसक्छ । त्यो भन्दा बढी जीवन दिनेले गरेको हुनसक्छ । बलिदान दिनेले गरेको हुनसक्छ । म भन्द्या बढी भोगाइ भोग्नेले गरेको हुनसक्छ । त्यसकारण मैले नै सबकुछ गरेको छु भन्ने ठान्नुहुदैन । तसर्थ म साथीहरुलाई आग्रह गर्न चाहन्छु एकताबद्ध भएर अधिवेशन सम्पन्न गर्नुहोस ।
४. एकपटक पछाडी पर्दा सधैं पछाडी परियो भन्ने नसोच्नुहोस
अध्यक्ष ओलीले सहमतीमा नेतृत्व छनौट गर्नका लागि आकांक्षीहरुले आफूभन्दा सिनियरसँग सल्लाह गर्न सुझाव दिनुभएको छ । ‘ मुख्य मुख्य साथीह्रुसँग सोध्नुहोस्न । सिसिएमहरुसँग सोध्नुहोस्न । म फारम भरुं नभरुं । के मा भरुं । सोेध्नुहोस । जे मा भन्नुहुन्छ साथीहरुले त्यसमा भर्नुहोस । नभर्नु भन्नुभयो भने नभर्नुहोस ।’
अध्यक्ष ओलीले एक पटक पछि पर्दा सधैं पछि परियो भन्ने सोच्न नहुने बताउनुभएको छ । कहिले को अगाडी कहिले को अगाडी पर्ने हुनाले पार्टी र आन्दोलनमा अनुशासित ढंगले लागि रहनु पर्ने उहाँको सुझाव छ । एक पटक पछि परे पनि आफ्नो योगदान र निरन्तरताका कारण फेरी अघि बढ्न सकिने उदाहरणको रुपमा आफूलाई हेर्न अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ । यस सन्दर्भमा अध्यक्ष ओलीले भन्नुभएको छ :
कहिले को अगाडी पर्छ कहिले को पछाडी पर्छ ?त्यो कुरा सधैंका लागि हुदैन । कामले फेरी कोही अगाडी जान्छ,कोही पछाडी पर्छ । अलिकति पछाडी परियो भने सधैंका लागि पछाडी परियो भन्ने सोच्नुहदैन । एकपछिनका लागि पछाडी परियो भने फेरी अगाडी बढिन्छ । मैले आफ्नै जीवनमा त्यो भोगेको छु । मैले काफी भोगेको छु । पछाडी परेको । पारिएको । ति सबै अनुभव पनि मैले भोगेको छु । तर जुनसुकै जति लागे पनि पछाडी पारिरहन सम्भव हुंदो रहेनछ । फेरी आफ्नो कामले मान्छे अघि बढ्दो रहेछ । स्वस्थ्य तरिकाले अघि बढियो भने कसैले छेक्नै सक्दोरहेनछ । मेरो अनुभव हो । तर अनेस्ट्ली प्रयास जारी राख्नु पर्दछ । त्यसो भएर साथीहरु फराकिलोपन उदारपनका साथ प्रतिनिधीहरु सहभागी हुनुहोस । प्रतिनिधीहरु मध्येका अगुवा साथीहरु सहभागी हुनुहोस अधिवेशनमा । जिम्मेवारीबोधका साथ सामुहिक काम हो यो । यसलाई बिचार गर्नुहोस । एक अवधीका लागि जसले जिम्मा लिनुहुन्छ ,उहाँले रातदिन गरेर त्यो जिम्मा पुरा गरेको हुनुपर्दछ । जसले जिम्म पाउनु भएको छैन् । पाउनेले नपाउने उत्तिकै महत्वका साथ काम दिनुपर्दछ । जसले जिम्मा पाएको छ उसलाई हामी सबैले सहयोग गर्नुपर्दछ । सफल बनाउनु पर्दछ । अनि मात्रै हामी सफल हुनसक्दछौं । त्यसकारण म तपाईंहरुलाई आग्रह् गर्न चाहन्छु । पार्टीलाई एकतावद्ध बनाएर लैजानुहोस । त्यसो भएर त्यसका निम्ती सहमतीका साथ पदाधिकारी छान्नुहोस । सदस्यहरु छान्नुहोस । र पछि अरु सचिवालयमा एडजष्ट गर्नुहोस । अरु जनवर्गी संगठनहरु,अरु अरु ठाउँहरु छन् । अहिले सरकारका पनि विभिन्न ठाउँहरु बनेका छन् । ति ठाउँहरुमा अवसर पाउन सकिन्छ फेरी ।
५.ढिलो गए अवश्य पुगिन्छ,छिटो गरे भन्न सकिन्न
अध्यक्ष ओलीले नेतृत्वमा दाबी गरेका प्रतिनिधीहरुलाई ट्राफिक नियमको स्मरण गराउनु भएको छ । बाटामा ट्राफिक नियमका संकेतसँगै यात्रामा अपनाउनु पर्ने सावधानी लेखिएको हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘बाटाका छेउमा ट्राफिक नियमका संकेतहरुमा लेखेको हुन्छ । ढिलो गए अवश्य पुगिन्छ । छिटो गरे भन्न सकिन्न ।’ आफ्नो स्वार्थ पुरा गर्न ,इगो शान्त पार्न,महत्वकांक्षा शान्त पार्न लोकतानित्रक अध्यासको नाम लिन पाइने तर यसले आपसी फाटो ल्याउनेतर्फ प्रतिनिधीहरुलाई सजग गराउनु भएको छ । यस सन्दर्भमा अध्यक्ष ओलीले भन्नुभएको छ :
बाटाका छेउमा ट्राफिक नियमका संकेतहरु लेखेको हुन्छ । ढिलो गए अवश्य पुगिन्छ । छिटो गरे भन्न सकिन्न । त्यो लेखेको हुन्छ साइनबोर्डमा । ट्राफिकले त्यो राखेको हुन्छ । ठिकैसँगले गयो भने अवश्य पुगिन्छ हतार गर्यो भने भन्न सकिन्न । छिटो गाडी दौडायो भने पुग्छ कि पुग्दैन भन्न सकिदैन ठिकै दोडाएर गयो भने पुगिन्छ । छिटो दौडाउन खोज्दा पनि कामचाँही छिटो गर्नुपर्दछ तर आफ्नो प्रगतिका लागि चाँही छिटो गाडी दौडाउन खोजियो भने त्यो दुर्घटनाको खतरा हुन्छ । म साथीह्रुसबैलाई यसमा सजग रहन आग्रह गर्दछु । यदि सहमती भएन भने हामीले लोकतान्त्रिक अभ्यास भनेकै छौं महत्वकांक्षा शान्त गर्न,इगो शान्त् गर्न,आफ्नो स्वार्थ पुरा गर्न डेमोक्रेटिक अभ्यासको नम लिन पाइन्छ । त्यो बाटो लिन पाइन्छ । डेमोक्रेटिक अभ्यास भनेकै छौं हामीले गरे भै गयो ।
६. एकतावद्ध भएर जानुहोस
अध्यक्ष ओलीले पार्टीमा आन्तरिक चुनावले अनावश्यक मतभेद र फाटो ल्याउने बताउनुभएको छ । एकपटक चुनाव गरेपछि अर्कोपटक सम्म पार्टीमा दुई फ्याक देखिने भएकोले एकताबद्ध भएर जान सबैलाई निर्देशन दिनुभएको छ ।
हामी आन्तरिक फाटो बढाउने खालका कुराहरु,आन्तरिक मनमुटाव बढाउने कुराहरु । एक पटक चुनाव लड्यो अर्को चुनावसम्म त्यो फ्याक । को कसको पक्ष भन्ने बनाइ राख्यो । त्यस्तो खालका कामहरु नगर्दा राम्रो हुन्छ । मेरो सुझाव । मेरो आग्रह के हो भने सकेसम्म एकतावद्ध भएर जानुस एकता गर्नुस । आफैंले भने जस्तो नभए पनि एकता गर्नुहोस । एकतावद्ध भएर जानुहोस । सबभन्दा विजय त्यसैमा छ । पार्टीको आन्दोलनको विजय त्यसैमा छ ।
७..गोप्य होइन,हात उठाएर पक्ष विपक्ष छुट्याउनुहोस
अध्यक्ष ओलीले सबै विधि प्रक्रिया पुरा गर्दा पनि कसैको चित्त नबुझे हात उठाएर पक्ष विपक्ष छुट्याउन निर्देशन दिनुभएको छ । उहाँले खुलमखुला उम्मेद्वारी र मत माग्दै हिडेपछि मतदानचाँही गोप्य गर्नुपर्ने आवश्यकता नभएको उहाँको भनाइ छ । खुला मतदानका सन्दर्भमा अध्यक्ष ओलीको भनाइ यस्तो थियो :
मत मिलेन यतिकोमा हात उठाए हुन्छ । यो फलानो पक्षमा । सजिलोसँग हात उठाउने । उहाँको पक्षमा को को छौ भन्दा उठाइदिने । पाँच मिनेटमा सिद्धिने ठाउँमा मतपत्र बनाउ,के गर बाक्सा लेउ । यो तमासा किन गर्नुपर्यो ? पार्लियमेन्टमा हामी यो पक्षमा हुन्छ भन्ने पक्षकाहरु सभामुख आसनको दाहिनेतिर राखेको ठाउँमा गएर सही गर्नुहोस । हुन्न भन्नेहरु देब्रेतिर गएर सही गर्नुहोस । त्यहाँ खुला छ त । अनि सबैकुरा गोप्य हुनुपर्दछ ? यस्तो गोप्य धेरै जरुरी पनि हुदैन । जब तपाईं खुलेआम पक्ष विपक्षमा भोट मागेरै हिड्नु भएको छ,उम्मेद्वार नै हुनु भएको छ भने । लुकेर उम्मेद्वार त भएको होइन होला नि त । खुला उम्मेद्वार छ भने खुला भोट हाले के हुन्छ ? मान्दैन कोही भने उठाउन त हात भन्दिए पनि हुन्छ नि ।

Back to top button