बागमतीका मूख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिदै

हेटौंडा । आफ्नो पक्षमा बहुमत पुग्ने भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिनुहुने भएको छ ।

आज मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभयो । फागुन २३ गते नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।

यस्तै, ११० सदस्यीय प्रदेशसभामा जमरकट्टेलले ५६ मत जुटाएमा मुख्यमन्त्रीमा निरन्तरता पाउनुहुने छ । हिजो नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाउनुभएको छ । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

Back to top button