अनुगमनको नाममा पटक–पटक परीक्षा केन्द्रमा नजान बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा (एसईइ) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ ।

हिजोदेखि सुरु भएको यो वर्षको एसईइ परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरु नजान आग्रह गरेको हो ।

बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक–पटक धेरै संख्यामा मानिसहरु अनुगमन र निरिक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ ।

‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारीक पदाधिकारीहरु बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरु समुहगत रुपमा र धेरै संख्यामा पटक–पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्नु’ कायम मुकायम परीक्षा नियन्त्रक नन्दलाल पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

हिजो बिहान ८ बजे देशभरका २ हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो । चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थीले फारम भरेका थिए ।

परीक्षाको दोस्रो दिन आज परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा दिएका छन् ।

Back to top button