चौथो मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।

जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गर्नुभयो । पेमा युवा क्लबको तर्फबाट सान्त्वना गोल मिलन राईले फर्काउनुभयो ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बुले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाउनुभयो । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गर्नुभयो ।

घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा फर्कायो । खेल सुरु भएको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा फर्काउनुभयो । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गर्नुभयो ।

पहिलो हाफमा १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि आक्रमक खेल्दै एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाउनुभयो । हरी कार्कीले डिबक्स भित्रबाट दिएको क्रस पासलाई दिसनले जाली चुमाउनुभयो । अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरि टिमको जित सुनिश्चत गर्नुभयो । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गर्नुभएको हो ।

उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित हुनुभयो। हाइस्कोर एपीएफकै हरी कार्की हुनुभयो । उहाँले खेलभरीमा तीन गोल गर्नुभयो । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुर्नामेन्ट अफ द इयर पेमा युवा क्लबका कोमल खवास घोषित हुनुभयो ।

वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णु डंगोलले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गर्नुभयो ।

Back to top button