
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
तर, तोकिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
उहाँ यसअघि दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री पनि बन्नुभएको थियो । यसैबिच नवनियुक्त मुख्यमन्त्री यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ ।







