प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । उच्चस्तरीय सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित टोलीसहित उहाँ भारत जानुभएको हो ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत ३४ जना रहेका छन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ ।

भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यहाँ भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुहुने छ ।

भारत पुगेपछि प्रधानमन्त्री शाह होटल ताजमहल जानुहुने छ । सोही होटलमा साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहको कार्यतालिका व्यस्त रहनेछ । उहाँले बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुने छ । त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने छ ।

दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय छलफलका साथै करिब आधा घण्टा एक्ला–एक्लै वार्ता गर्ने तयारी गरिएको छ । वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ः२५ बजे सहमति तथा सम्झौताहरू आदान–प्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ । यस अवसरमा ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन विभिन्न समझदारीपत्र आदान–प्रदान गरिने तयारी छ ।

प्रधानमन्त्री शाहले सोही दिन अपराह्न ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नुहुने छ । राष्ट्रपति निवासमा हुने भेटवार्तापछि उहाँ अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट नेपाल फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले यस भ्रमणलाई राष्ट्रिय हित र द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Back to top button