
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाउनुभएको छ ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाउनुभएको हो ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैहुनुहुन्छ । भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेर उहाँ भोलि साँझ स्वदेश फर्किनुहुने छ ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसक्नुभएको स्रोतले बतायो । सो सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्नुहुने छ ।







