
नेपाल खेलकुद महासंघका बरिष्ठ उपाध्यक्ष तथा ‘नेकोसको आह्वान, कोभिड– नो भिड’ राष्ट्रिय अभियानका संयोजक पर्शुराम बस्नेतसँग कोशी सन्देशका कार्यकारी सम्पादक सुदिप कोइरालाले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल खेलकुद महासंघले अहिले चलाईरहेको ‘कोभिड नो–भीड’ अभियान के हो ?
खेलकुद महासंघले सञ्चालन गरेको ‘कोभिड नो–भीड’ अभियान अहिलेको कोरोना महामारीले पारेको प्रभाव र त्यसको न्यूनीकरणका लागि स्वयंसेवा अभियान हो । यो महामारीविरुद्ध अग्रमोर्चामा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्र सेवक कर्मचारीलगायतका साथमा खेलकुद महासंघ पनि छ । अर्थात् कोरोना महामारीविरुद्धको अभियानमा खेलकुद महासंघ पनि अग्रमोर्चामा नै रहेर अग्रभागमा काम गर्नेहरुको प्रोत्साहन गर्नुपर्छ भन्दै यो अभियान सञ्चालन गरिएको हो । अग्रमोर्चामा खटिनेको हौसला बढाउनु यतिबेला सबैको दायित्व हो । हामीले त्यो दायित्व पूरा गरिरहेका छौं
यस अभियानअन्तर्गत अग्रमोर्चामा काम गर्नेहरुलाई महासंघले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुका साथै जनचेतना फैलाएर सघाउने काम गरिरहेको छ । अग्रमोर्चामा आफ्नो जिउ ज्यानको प्रवाह नगरी खटेकाहरुसँग हामी पनि अग्रमोर्चा रहेर सघाउन राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छौं । यो विशेष अभियान ७ वटै प्रदेशको ७७ जिल्लास्थित ७ सय ५३ पालिकासम्म सञ्चालन गरेर स्वयंसेवा गर्न खेलकुद महासंघका नेता तथा कार्यकर्तालाई परिचालनका साथै पहिलो चरणमा स्वास्थ्य सामग्री बितरण अभियान सञ्चालन गरेका छौं । अहिलेसम्ममा ५६ वटा जिल्लामा यो अभियान पुर्याइसकेका छौं ।
तपाइँले यतिका जिल्लाहरु पुग्दा अग्रमोर्चामा खटिएकाहरुलाई के कस्ता समस्या देख्नु भयो ?
यी जिल्लाहरुका सञ्चारकर्मी, सुरक्षाकर्मी र खेलकर्मीहरुसम्म पुग्यौं । सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री अभाव देख्यौं । सुरक्षाकर्मीहरुले एउटै मास्क ३–४ पटकसम्म धोएर लगाएको पनि पाइयो । त्यसैले हामीले सुरक्षाकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री बितरण गरिरहेका छौं । एउटा जिल्ला प्रहरी कार्यालयलाई कम्तिमा एक महिना पुग्ने मास्क, सेनिटाइजर, ग्लोब्स, फेसशिल्ड बितरण गर्दै आएका छौं । यसले उहाँहरु प्रोत्साहित हुनुभएको छ । सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्न सुरक्षाकर्मी नै खटिनुपर्ने, कोरोना महामारीको बारेमा सन्देश प्रवाह गर्न सञ्चारकर्मी खटिएका देख्यौं । अझै लामो निषेधाज्ञा लम्बियो भने खाद्य सामग्रीको अभाव हुन सकछ । त्यसैले आवश्यकतालाई मध्य नजर गर्दै खाद्यसामग्री पनि बितरण गर्ने तयारीमा जुटेका छौं । यसका साथै अझै महामारी भयावह रुप लिँदै गए खेलकुद क्षेत्रका कभर्ड हल, तालिम केन्द्रलगायतका संरचनालाई आइसोलेसन सेन्टर तथा आकस्मिक अस्पताल बनाउनुपर्छ भनेर लबिङ गर्ने र कार्ययोजना बनाउने काम भइरहेको छ ।
कोरानाले खेलाडीहरुलाई कत्तिको प्रभावित बनाएको छ ? उहाँहरुको मनोभाव के छ ?
यो महामारीले खेल क्षेत्र प्रभावित नहुने कुरै भएन । त्यो प्रभावित भएकै छ । कोरोना महामारीले खेलकुद महासंघका केन्द्रिय सदस्यहरु पनि हामीले गुमाएका छौं । यसले समग्र खेलकुद क्षेत्रका साथै मुलुकलाई अपूरणीय क्षति पुगेको छ । यो शोकलाई शक्तिमा बदल्दै मुलुकभरिका खेलकुदसँग आबद्ध व्यक्तिहरुका साथै सम्पूर्ण खेलाडीहरु कोरोना महामारीविरुद्धको यो अभियानमा लागेका छन् । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलकुद क्षेत्रलाई अभिभावकत्व प्रदान गर्नु भएको छ । उहाँले खेलकुदलाई प्राथमिकतामा राखेर खेलाडीहरुलाई प्रोत्साहित गर्दै मनोबल बढाइरहनु भएको छ । अब अगामी वर्षको बजेटमा यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर बजेट ल्याउनेमा सबै आशावादी छन् । खेलकुद क्षेत्र अनुशासित भएको र खेलाडीहरुले खेलेरै मुलुकलाई संसारभरि चिनाइरहनु भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । पछिल्लो समय सुरु भएको अन्तर्राष्ट्रिय खेलहरुले मुलुकमा संसारभरिका खेलाडीहरुलाई ल्याएर खेल टुरिजमको समेत विकासको शुभारम्भ भइसकेकाले यो क्षेत्र सरकारको प्राथमिकतामा नपर्ने कुरै भएन । त्यसैले सरकारले यस क्षेत्रलाई निरास नपार्नेमा हामी विश्वस्त छौं ।
कोरोना संक्रमणका कारण लामो समयदेखि तल्लोस्तरसम्म नै खेलकुद गतिविधि शून्य झै बनेको छ । अहिले खेलकुद क्षेत्र पनि व्यवसायिक भएको अबस्थामा खेलेरै जीवनायापन गर्ने खेलाडीहरु पनि छन् । यो महामारीले उहाँहरुको दैनिक जीवनयापन कतिको प्रभावित बनाएको छ ? उहाँहरुको बिषयमा केही सोच्नु भएको छ ?
अवश्य पनि सोचिएको छ । यसका लागि हामीले हेल्प डेस्क नै निर्माण गरेर काम अघि बढाएका छौं । हेल्प डेस्कले कोरोना महामारीले ज्यान गुमाएका र समस्यामा वा ओझेलमा परेका खेलकुद क्षेत्रका व्यक्तिहरुको तथ्यांक संकलनको काम गरिरहेको छ । तथ्यांक संकलनपछि सबै पिडित भएकाहरुको सहयोग तथा उद्धारका लागि योजनाबद्ध रुपमा कार्यक्रम ल्याउने तयारीमा छौं ।
अब खेलकुद गतिविधिको कुरा गर्ने हो भने, प्रदेश १ कै खेलकुद क्षेत्रको कुरा गरौं न । तीन वर्षदेखि खेलकुद क्षेत्र नेतृत्वविहिन अवस्थामा छ । प्रदेश खेलकुद बोर्ड गठन हुन नसकिरहेको अवस्थामा खेल गतिविधि नहुनु, बजेट फ्रिज हुनु स्वभाविक हो । सातै प्रदेशमा खेलकुदमा लागेकाहरु अभिभावक नपाउँदा निराश छन् । त्यसैले संघीय तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराएर खेलकुद क्षेत्रलाई जिल्ला तहसम्म नेतृत्व प्रदान गर्न पहल गरिरहेका छौं । नेतृत्व चयन भएपछि स्वभाविक रुपमा खेल क्षेत्रले गति लिन्छ ।
तपाइँहरुले अहिले सञ्चालन गरिरहनु भएको अभियान एक पटकका लागि मात्रै हो की निरन्तर चलिरहन्छ ?
यो अभियान आवश्यकताले सृजना गरेको अभियान हो । त्यसैले कोरोना महामारीभरि चलनाउँछौं । त्यसपछि आवश्यकताका आधारमा खेलकुद महासंघहरुले रचनात्मक काम गर्दै अघि बढ्छ । अहिले यो महामारीविरुद्ध लडिरहँदा खेलकुद महासंघले पनि फ्रन्टलाईनमा उभिएर केही गर्नुपर्छ भनेर यो राष्ट्रिय अभियान चलाइएको हो । खेलकुद महासंघको संरचना नगर तहसम्म नै छन् । त्यसैले राष्ट्रिय अभियानसँगै जिल्ला/जिल्लाका तल्लो तहसम्म यो अभियानलाई सञ्चालन गरिरहेको अवस्था छ । अभियानका क्रममा संक्रमितको घरमा सेनिटाइज गर्ने, संक्रमण भएर मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने, सचेतनामूलक अभियान सञ्चालन गर्नेलगायतका कामहरु भइरहेको छ । त्यसको अनुगमन तथा तथ्यांक राख्ने काम पनि भइरहेको छ ।
कोरोना महामारीको नियन्त्रणका लागि के गर्न आवश्यक देखिन्छ ?
तराईका जिल्ला कोरोना महामारीले धेरै प्रभावित भएका पायौं । सर्लाहीमा पुग्दा एकै दिन १८ जनासम्मको दुःखद निधन भएको पायौं । यसको नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड सबैले कडाईका साथ पालना गर्ने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर लगाउने, अनावश्यक घर बाहिर ननिस्किने जस्ता सावधानी अपनाउनु अपरिहार्य छ । जहाँ बढी भिडभाड, जहाँ निषेधाज्ञा उलंघन भएको छ, त्यहाँ संक्रमण बढी फैलिएको देखिन्छ । जहाँ सचेतता अपनाइएको छ, त्यहाँ अत्यन्तै कम संक्रमण फैलिएको पायौं । त्यसैले साबधानी अपनाउनुका साथै पोषिलो खाने कुरा नियमित खाने र कोरोना महामारीलाई पराजित गर्न रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन ।