प्रदेश १ मा गठबन्धनको साझा कार्यक्रम तयार

विराटनगर । प्रदेश १ सत्तारुढ पाँच दलीय गठबन्धनको साझा कार्यक्रम तयार भएको छ । नोपली कांग्रेस सांसद शेरखचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले साझा कार्यक्रम तयार गरेको हो ।

कार्यदलले २० पेजको अल्पकालीन र दीर्घकालीन साझा कार्यक्रम तयार गरी आज मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाएको छ । सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यान्वयनमुखी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताउनुभयो ।

प्रदेशको वस्तुस्थिति र सामर्थ्यलाई अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन योजनासहित प्रतिवेदन तयार गरेको उहाँको भनाइ छ । प्रदेश सरकारले अल्पकालीन योजनामा स्वास्थ्य, कृषि, शिक्षा र कोरोनाको उपचारलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश १ लाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बनाउने योजना दीर्घकालीन प्राथमिकतामा छ । उहाँले जनताको समस्यालाई सम्बोधन गर्ने गरी कार्यान्यवनमुखी प्रतिवेदन तयार गरेको बताउनुभयो ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले सरकारले प्रतिवेदन कार्यान्वयनमा लैजाने बताउनुभयो । नेपाली कांग्रेस महाधिवेशनका कारण प्रदेशको काममा केही प्रभाव परेको उल्लेख गर्दै उहाँले अब द्रुत गतिमा काम अघि बढ्ने बताउनुभयो ।

नेकपा एसका नेता राजेन्द्र राईको नेतृत्वमा गठित सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छ ।

Back to top button