मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बसको ठक्करबाट आज दिउँसो साइकलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री पथरीशनिश्चरे–२ का ५० वर्षीय यज्ञ थापाको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार यात्रुवाहक बसले दिउँसो ३ः५० बजेतिर थापालाई ठक्कर दिएको थियो।

थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय प्रकाश पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताउनुभयो।

Back to top button