जङ्गली जनावरको आक्रमणबाट चितवनमा एक वर्षमा १२ को मृत्यु, ३१ जना घाइते

चितवन। गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन्।

मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन्। गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रूपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनु भयो।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनु भयो।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ। यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिनु भयो । जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय रूपैयाँ भुक्तानी गरिएको छ। यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ। जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।

Back to top button