नेकपा एसले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ दिएको छ ।

आज बिहान बालुवाटारमा पुगेर एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि चेक हस्तान्तरण गर्न नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसालसहितका नेताहरु बालुवाटार पुग्नुभएको थियो।

हिजो पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले कार्यकर्ताबाट आर्थिक संकलन गरेर सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको थियो । अध्यक्ष नेपालले पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तीमा गएकाहरूबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिनुभएको थियो ।

यस्तै, गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १ सय ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ।

सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेको छ । प्रचण्डले राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने जानकारी गराउनुभएको छ । सरकारले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको जनाएको छ।

यता भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन्। सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको छ। भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ।

भूकम्पबाट घरबारविहीन भएको ३ दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ ।

Back to top button