माइतीघरलाई निषेधित क्षेत्रबाट हटाउन गृहमन्त्री श्रेष्ठलाई गगन थापाको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघरको निषेधित क्षेत्र हटाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अनुरोध गर्नुभएको छ ।

आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै थापाले आफ्नो आवाज सरकारलाई सुनाउन माइतीघर पुगेकाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि निषेधित क्षेत्र तुरुन्त हटाउन अनुरोध गर्नुभएको हो ।

‘आज धोती जुलुस भयो। यो पोलिटिकल स्टेटमेन्ट हो नि। त्यहाँ मान्छेहरूले केहीले टोपी दिवस मनाउछौं भनेर आउनुभयो। यो राइट सबैसँग छ। माइतीघरमा आएर उहाँले देखाउनु खोज्नु भयो कि यहाँ माइतीघरले सरकारलाई सुन्छ। हाम्रो ठाउँ हो नि त। हिजो हामी सबैले त्यसै गरेको हो नि त। तर अहिले माइतीघरलाई निषेधित गरेपछि बल प्रयोग गर्नुपरेको छ। हाम्रो कुरा सांसदले सुन्छन्, सरकारले सुन्छ भनेर बालकुमारीतिर नगाएर माइतीघरमा मण्डलमा शान्तिपूर्ण ढंगले धर्नामा बस्ने वातावरण बन्थ्यो। हाम्रो डेमोक्रेसीमा यसलाई निश्चित ठाउँ बनाएको हो। जहाँ मान्छे आएर आफ्नो कुरा राख्छ। सरकारले, सांसदले र राज्यले सुन्छ भनेर अनुभूति गराउन खोजेको हो । यसको कुनै औचित्य छैन। यसकारण यो निर्णय तत्काल पुनरविचार गर्नुहोस्,’उहाँले भन्नुभयो ,‘प्रदर्शन गर्न दिनुहोस्।’

आज बिहान मात्रै धोती दिवसको अवसरमा आयोजित र्‍यालीमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरी माइतीघरबाट पक्राउ गरेको छ । सरकारले निषेधित क्षेत्र तोकेको माइतीघरबाट ५१ जना पक्राउ परेका हुन्।

‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि ४७ जना पुरुष र ४ जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । सरकारले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

Back to top button