कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो, भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको बैठक भोलि (आइतबार) १ बजेसम्मलाई सारिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनमा कसले कति सिट लिने भन्नेमा विवाद कायमै रहेको छ । दलभित्रका आकांक्षीबीच टिकटका लागि दौडधुप पनि जारी छ।

कांग्रेसको भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा उम्मेदवारका लागि संसदीय बोर्डमा छलफल हुने भएपनि अन्तिममा सभापति शेरबहादुर देउवाले कोटको खल्तिबाट नाम निकाल्ने भन्दै असन्तुष्ट व्यक्त गर्नुभएको थियो । थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको दाबी गर्दै आउनुभएको छ ।

Back to top button