योगेश वैद्यप्रति संगीतकर्मीद्वारा श्रद्धाञ्जली

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तानलगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

यस्तै, ७७ वर्षीय गायक तथा संगीतकार वैद्यको गएराति साढे १२ बजे काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’लगायत गीत लोकप्रिय छन् । उहाँले नेपाल भाषाका गीतसमेत गाउनुभएको छ ।

यस्तै, वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिनुभयो ।

Back to top button