एमाले कैलाली अधिवेशनमा मतदान अझै अनिश्चित

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीको अधिवेशन अन्तर्गत आज दिउँसो १२ बजेदेखि हुने भनेको मतदान अझै सुरु हुन सकेको छैन ।

निर्वाचन कमिटीले आज बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र १२ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यसूची तोकेको थियो तर, ४ बजेसम्म मतदान हुन सकेको छैन ।

निर्वाचन कमिटीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन तर मतपत्र छाप्ने काम भइरहेको भन्दै केही समय लाग्ने जनाएको छ । एमालेको कैलाली जिल्ला अधिवेशनको ६ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए ४ गतेदेखि निर्वाचन गर्न निर्देशन दिनुभएको थियो । तर, अधिवेशन सुरू भएको ५ दिन बित्दा समेत मतदानको प्रक्रिया अझै अनिश्चित छ ।

एमालेको नेतृत्वका लागि अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिनुभएको छ ।

Back to top button