लागूऔषध प्रयोगकर्तालाई अपराधी नभएर “रोगी” का रूपमा बुझ्न सरोकारवालाको आग्रह

विराटनगर :  रिकभरिङ्ग नेपाल कोशी प्रदेशले शुक्रवार विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तर मन्त्रालयगत लागू औषध कानुन सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले लागू औषध प्रयोगकर्तालाई रोगीका रूपमा बुझ्नु पर्ने बताएका छन् ।

प्रचलित कानुन अनुसार लागू औषध प्रयोगकर्तालाई अपराधीका रूपमा बुझ्ने गरिएको भएपनि व्यवहारिक हिसाब र सामाजिक हिसाबले उनीहरूलाई रोगीका रूपमा बुझ्न आवश्यक भएको सरोकारवालाहरूको जोड रहेको छ ।

रिकभरिङ्ग नेपाल, कोशी प्रदेशका उपाध्यक्ष सञ्जीव चापागाईँले विश्व स्वास्थ्य सङ्गठनले लागू औषध प्रयोगकर्तालाई रोगीका रूपमा परिभाषित गरेकाले सोही अनुसार लागू औषध प्रयोगकर्तालाई बुझ्न आवश्यक भएको बताउनु भएको छ ।

चापागाईँले नेपाल सरकारले वि.स.२०७६ सालमा जारी गरेको तथ्याङ्क अनुसार झण्डै १ लाख २१ हजार लागू औषध प्रयोग कर्तामा ३ दशमवल ५ प्रतिशतमा एचआइभी, ४ प्रतिशतमा क्षयरोग र १५ प्रतिशतमा हेपाटाइटिस बी र सी र २ दशमलव ५ प्रतिशतमा यौनजन्य रोग देखा पर्नुुले पनि प्रयोगकर्ताहरूलाई रोगीका रूपमा व्यवहार गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्र्यक्रममा कोशी प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता रूपेश कोइरालाले कठोर कानुनको व्यवस्थाले मात्र समाजमा लागू औषध प्रयोगमा कमी नआउने बताउनु भयो । उहाँले विश्वका विकसित देशमा लागू औषधको प्रयोग अत्यधिक हुने गरेको तर कठोर कानुन भन्दा पनि सामाजिक र व्यवहारिक हिसाबले लागू औषध प्रयोगकर्ताका मुद्दालाई राज्यले सम्बोधन गर्ने गरेको बताउनु भयो ।

मुख्यन्यायाधिवक्ता कोइरालाले लागू औषध प्रयोगकर्ताको सामाजिक तथा आर्थिक पुनस्थापनाका निम्ति आवश्यक पर्ने कानुन तर्जुमाका लागि कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनु भयो ।

कोशी प्रदेश सरकारका उप मुख्यन्यायाधिवक्ता राजेन्द्र बस्नेतले लागू औषध प्रयोगकर्तालाई निरूत्साहित हुने गरी कानुन मस्यौदा गर्दा स्थानीय तथा भौगोलिक अवस्थालाई मध्यनजर गर्नुपर्ने बताउनु भयो ।

रिकभरिङ्ग नेपालका कोशी प्रदेश अध्यक्ष चन्द्र बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लागू औषधमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन रिकभरिङ्ग नेपालका कोशी प्रदेश महासचिव जय देवकोटाले गर्नु भएको थियो ।

 

 

Back to top button