धनकुटाको सम्पर्क कार्यालयमा बैठक बसेर कोशी प्रदेश सरकारले गर्‍यो यस्ता निर्णय…

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।

२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले धनकुटामा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । मंगलबार बैठकपछि मुख्यमन्त्री कार्कीले सम्पर्क कार्यालय अब नियमित रूपमा सञ्चालन हुने बताउनुभयो ।

मंगलबार बसेको बैठकले स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेश भित्रकै उत्पादन हुनुपर्ने निर्णय गरेको छ ।

यस्तै खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने तथा मन्त्रिपरिषद्को बैठक महिनाको एक पटक धनकुटामा बस्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै प्रदेश लगानी प्राधिकरणको बोर्डको बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्कीले सोही क्रममा धनकुटामा रहेका सरकारी निकायका प्रतिनिधिलाई जनताका चाहनाअनुसारका काम गर्न निर्देशन दिनुभएको छ ।

Back to top button