सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आइपीयू)को १ सय ४८ औँ महासभामा सहभागी भइ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ ।

यही चैत १० देखि १४ गतेसम्म संघको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीतिः शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरू नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी हुनुहुन्थ्यो ।

यस्तै, राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्थ्यो।

Back to top button