विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुग्नेगरी अध्यापन गराउनुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुग्नेगरी अध्यापन गराउनु पर्ने बताउनुभएको छ।

महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्याथी युनियनद्वारा आज आयोजित पुरस्कार वितरण, सम्मान, नयाँ विद्यार्थी स्वागत, झण्डोत्तोलन र स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिष्पर्धी दक्ष जनशक्ति उत्पादनमा शिक्षालयले विशेष ध्यान पुर्‍यानुपर्ने बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले नयाँ अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं आविष्कार गरी विश्वमा मुलुकको नामको कीर्तिमान राख्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले खाद्य सुरक्षा, जलवायु परिवर्तनको अनुकुलता र मुलुकको अर्थतन्त्र सवल बनाउने विषयमा विद्यार्थीहरुले विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नु भयो,’चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियर, नेता तथा समाजसुधारक उत्पादन गर्ने शिक्षालय केन्द्र भएकोले यसको विकासका लागि सहमतिको आधारमा संघीय सरकारले २० प्रतिशत बजेट विनियोजन गर्नुपर्छ’ ।

क्याम्पसका प्राचार्य रामावतार शरण,युनियनका सभापति जशवन्त पौडेल, सचिव सनिम ठकुरी, अखिल क्रान्तीकारीका अभिमन्यु यादव, अनेरास्ववियुका जोसेफ घिमिरे र रिता न्यौपाने मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएकोले यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गर्नु भयो ।

कार्यक्रमका दौरान पूर्व राष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी , दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगितामा स्वर्ण पदक विजेता मनिष खतिडालाई प्रमाणपत्र वितरण गर्नुभयो ।

स्तै क्याम्पसका विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर गर्ने विराटनगरमा विभिन्न अस्पतालहरुलाई प्रमाणपत्र प्रदान गर्नु भयो ।

Back to top button