मोरङको सुनवर्षीमा आगलागी, करोड भन्दा बढीको क्षती भएको अनुमान

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा हिजो साँझ भएको आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय दिलबहादुर कार्कीको काठको दुई तले घर, दुईवटा गाईगोठ, भान्छा घर र भण्डारघरसहित पाँचवटा संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो साँझ करिब पौने ७ बजे सुरु भएको आगलागी दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा राति सवा ९ बजे नियन्त्रणमा आएको थियो । आगो निभाउन रतुवामाई, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाका दमकल परिचालन गरिएको थियो । आगलागीबाट पशु चौपाया जोगाउने प्रयास गर्दा सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ। गोठमा रहेका चारवटा गाई गोरुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

पटका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरे पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button