मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटनाः १० जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ जना पुरुष, ३ जना महिला र २ जना बालिका रहेका छन्।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ जना पुरुष र २ जना बालक छन्। आज बिहान करिब ६ः १० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ। घाइते तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

Back to top button