काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त हुनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहनुभएका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त हुनुभएको हो ।
उहाँलाई श्रीमतीको जिम्मामा रिहा गरिएको कारागार स्रोतले जनाएको छ । रायमाझी ६५ वर्ष पूरा हुनुभएको छ । आफू जेष्ठ नागरिक भएको र सोही आधारमा कैद मुक्त हुनुपर्ने भन्दै रायमाझीले अदालतमा निवेदन दिनुभएको थियो । निवेदनका आधारमा अदालतले उहाँलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो।
काठमाडौं जिल्ला अदालतले पनि कारागार कार्यालयमा पत्र पठाएर यसबारे जानकारी गराएको थियो। जेष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ। रायमाझी २० वैशाख २०८० मा पक्राउ पर्नुभएको थियो । उहाँलाई ४ वर्ष कैद र ४० हजार जरिवाना निर्धारण भएको थियो।
अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो । ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र यही कसुरमा थप ६ महिना कैद गरिएको छ । यो सबै गर्दा उहाँलाई एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला थियो ।







