
विराटनगर । मोरङको उर्लाबारीमा एक पुरुष घरकै सुत्ने कोठामा अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।
मृत्यु हुनेमा तेह्रथुमको फेदाप गाउँपालिका–२ घर भई हाल उर्लाबारी नगरपालिका–४ मा बस्दै आउनुभएका ३७ वर्षीय चूडामणि श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठ लामो समयदेखि मधुमेह (सुगर) को औषधि सेवन गर्दै आउनुभएको थियो । बुधबार राति करिब ११ः३५ बजेतिर उहाँ आफ्नै घरको सुत्ने कोठामा ओछ्यानमा घोप्टो परेको अवस्थामा भेटिनुभएको थियो । उहाँको नाकबाट रगत बगिरहेको देखेपछि श्रीमती ३१ वर्षीया सोनिमा श्रेष्ठ र छिमेकीहरूले बिहीबार राति १२ः२० बजेतिर उपचारका लागि उर्लाबारीको अरनिको अस्पताल पुर्याएका थिए।
अस्पतालमा चिकित्सकले जाँच गर्दा श्रेष्ठलाई मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा टोली खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







